पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले पत्रकार धन बस्नेत र सागरराज तिमिल्सिनालाई बुधबार सम्मान गरेको छ । महासंघ कास्कीद्वारा सञ्चालित टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार वर्ष–२०८१ का लागि बस्नेत र वर्ष–२०८२ का लागि तिमिल्सिना सम्मानित भएका हुन्।गण्डकी विश्वविद्यालयका कुलपति प्राडा इन्द्रप्रसाद तिवारी, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारी, प्रेस स्वतन्त्रता सेनानी एवं पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष माधव शर्मासमेतले उनीहरुलाई जनही २५ हजार १११ सहित सम्मानपत्र प्रदान गरे ।

पुरस्कारका लागि पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष नारायण कार्की संयोजक रहेको प्रतिभा छनोट गठन गरिएको थियो।

पुराना पत्रकार बस्नेत खेलाडीन्यूज डटकम र टक्सार म्यागेजिनमा आवद्ध छन् । २०६० सालमा नेपाल समाचारपत्रबाट पत्रकारिता सुरु गरेका उनीसँग लामो समय नागरिक दैनिकमा काम गरेको अनुभव छ । उनले यसअघि सहारा खेलकुद पत्रकारिता पुरस्कार र जिल्ला खेलकुद विकास समिति, कास्कीले प्रदान गर्ने उत्कृष्ट खेल पत्रकार पुरस्कार प्राप्त गरिसकेका छन् ।

यसैगरी, तिमिल्सिना एपिवान टिभी र क्लिक गण्डकीमा आवद्ध छन् । २०५९ सालदेखि समाधान दैनिकबाट पत्रकारिता सुरु गरेका उनले पोखरा एफएम, रेडियो तरङ्ग, उज्यालो रेडियो नेटवर्क, विग एफएम, एभिन्यूज, सेतोपाटी, गन्थन डटकममा काम गरिसकेका छन् । यसअघि उनी सहारा खेलकुद पत्रकारिता पुरस्कार, जिल्ला खेलकुद विकास समिति कास्कीद्वारा उत्कृष्ट खेल पत्रकार पुरस्कार, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड, रेवान पोखराको पर्यटन पत्रकारिता पुरस्कार प्राप्त गरिसकेका छन् । पत्रकार महासंघ कास्की अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा भएकोमा वक्ताले पुरस्कृत व्यक्तित्वलाई बधाई दिँदै पत्रकारको हकहितको पक्षमा बोलेका थिए ।

महासंघले समयको पालना गर्दै निर्धारित समयमै कार्यक्रम गरेको सचिव भूपाल गुरुङले बताए।