पोखरा, १६ चैत ।
नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवसका अवसरमा पोखराका तीन जना पत्रकार तथा एक संस्थालाई सम्मान तथा पुरस्कृत गरिएको छ।
नेपाल पत्रकार महासंघ कास्की शाखाले २०५५ सालमा स्थापना गरेको ‘पोखरा पत्रकारिता सम्मान’ २०८१ बाट वरिष्ठ पत्रकार राजबहादुर गुरुङलाई नगद रु ५० हजार ५५५, दोसल्ला र सम्मानपत्र सहित सम्मानित गरिएको छ। त्यस्तै, २०८२ बाट लागि महासंघलाई पुर्याएको संस्थागत योगदानको कदर स्वरूप सहारा क्लबलाई सम्मानपत्र प्रदान गरिएको छ।
करिब तीन दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय गुरुङ हाल यूनाइटेड खबर अनलाइनमा आवद्ध छन्।
यसैगरी, पोखराका प्रथम पत्रकार स्वर्गीय जगन्नाथ सिग्देलको स्मृतिमा स्थापित ‘जगन्नाथ सिग्देल पत्रकारिता पुरस्कार’ २०८१ बाट पत्रकार फणिन्द्र अधिकारी ९अकिञ्चन० र २०८२ बाट पत्रकार एकराज गिरीलाई प्रदान गरिएको छ। उक्त पुरस्कारको राशि रु। २५ हजार ५५५, दोसल्ला र सम्मानपत्र रहेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तथा स्व। सिग्देल परिवारले उनीहरूलाई सम्मान अर्पण गरेका हुन्।
दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय अधिकारी हाल गोरखापत्र र समाधान दैनिकमा कार्यरत छन् भने गिरी सफल न्यूजसँग आवद्ध छन्।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामाजिक सञ्जाल र प्रविधिको बढ्दो प्रयोगका कारण सत्यतथ्य सूचना प्रवाहमा चुनौती बढ्दै गएको उल्लेख गर्दै वर्तमान सन्दर्भमा जिम्मेवार र मर्यादित पत्रकारिताको आवश्यकता अझ बढेको बताउनुभयो। उहाँले शक्तिशाली सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने सम्भावना रहने उल्लेख गर्दै पत्रकारिताले निष्पक्ष रूपमा प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारी, प्रेस चौतारी कास्कीका अध्यक्ष मोतीसागर अधिकारी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेल तथा अग्रज पत्रकार कुसुमकेशव पराजुली लगायतले मन्तव्य व्यक्त गरेका थिए।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष माधव रेग्मीले राख्नुभएको थियो भने सञ्चालन सचिव भूपाल गुरुङले गर्नुभएको थियो।
वि।सं। २०१२ सालमा स्थापना भएको नेपाल पत्रकार महासंघले यस वर्ष ‘मर्यादित पत्रकारिता, सुरक्षित पत्रकारः श्रम अधिकार र प्रेस स्वतन्त्रता हाम्रो सरोकार’ भन्ने नाराका साथ देशभर विभिन्न कार्यक्रम आयोजना गरी ७१औँ स्थापना दिवस मनाएको हो।