शोक विज्ञप्ति

मितिः२०७९/१०/०२
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष एवं पत्रकार महासंघ कास्कीका पूर्वउपाध्यक्ष त्रिभुवन पौडेलको आइतबार पोखरामा यती एयरलायन्सको जहाज दुर्घटनामा भएको अकल्पनीय र असामयिक निधनले नेपाल पत्रकार महासंघ कास्की शाखा स्तब्ध एवं मर्माहत भएको छ ।
पर्वतको आर्थरमा बुबा डिल्लीराम पौडेल र आमा पदमकुमारी पौडेलको कोखबाट २०४३ भदौ ७ गते जन्मनुभएका पौडेलले स्वाभिमान राष्ट्रिय साप्ताहिक पत्रिकाबाट पत्रकारिता सुरु गर्नुभएको थियो। पोखरा हटलाइन दैनिकको प्रकाशक/सम्पादक पौडेलले रेडियो अन्नपूर्ण र नेपाल टेलिभिजनमा काम गर्नुभयो । पोखरा ११ फूलबारीमा बस्दै आउनुभएका पौडेलका आमा, श्रीमती, छोरा, दाजु र दुई दिदीबहिनी हुनुहुन्छ ।
दुई दशकदेखि पत्रकारितामा क्रियाशील पौडेलले नेपाल पत्रकार महासंघ कास्कीमा दुई कार्यकाल सचिव, एक कार्यकाल उपाध्यक्ष र नेपाल पत्रकार महासंघ गण्डकीको संस्थापक अध्यक्षको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ। उर्जाशील, अति सहयोगी र मिलनसार पत्रकार पौडेलको निधनले नेपाल पत्रकार महासंघ कास्की र नेपालको समग्र पत्रकारिता क्षेत्रमा नै अपूरणीय क्षति पुगेको छ।
उहाँले नेपाल पत्रकार महासंघ कास्कीको भवन निर्माणमा र पत्रकारिता क्षेत्रमा पुऱ्याउनु भएको योगदान नेपाल पत्रकार महासंघ कास्कीका लागि सधै स्मरणीय रहनेछ। यस दुखद् घडीमा उहाँको आत्माको चिर शान्तिको कामना गर्दै नेपाल पत्रकार महासंघ कास्की शाखा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।
आइतबार नै सोही दुर्घटनामा पोखराकै सञ्चारकमी रेडियो एपोस्टलका प्रमुखसमेत रहनुभएका अनील शाहीको अकल्पनीय निधन भएकोमा नेपाल पत्रकार महासंघ कास्की दुखी भएको छ। यस दुखद् क्षणमा अनील शाहीसहित जहाज दुर्घटनामा निधन हुनुभएका सम्पूर्णको आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनहरुमा नेपाल पत्रकार महासंघ कास्की गहिरो समवेदना प्रकट गर्दछ ।
नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भई उद्घाटनको उत्सव नसकिँदै जहाज दुर्घटनामा परेर ठूलो जनधनको क्षति भएकाले हवाइ सुरक्षामा गम्भीर प्रश्न उब्जाएको छ। उक्त दुर्घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन तथा क्षति न्यूनीकरणमा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौं । साथै नेपालको हवाइ क्षेत्रलाई सुरक्षित, विश्वसनीय र भरपर्दो बनाउन नेपाल सरकार र सम्बद्ध निकायहरुमा अपील गर्दछौं ।
माधव बराल / विमला भण्डारी
सचिव / अध्यक्ष