राष्ट्रिय स्वतन्त्र पाटीले पोखरामा आइतबार गरेको विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारीले पत्रकारहरुलाई गरेको हातपात र सञ्चार सामग्री तोडफोडको घटनाप्रति नेपाल पत्रकार महासंघ कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।

सहिदचोकमा रास्वपाका अध्यक्ष रवि अध्यक्ष लामिछाने पक्राउको विरोधमा पाटीका कार्यकर्ताले निषेधाज्ञा तोड्दै गरेको पर्दशन क्रममा समाचार संकलनमा खटिएका पत्रकारहरुमाथि भएको आत्रमण र सञ्चार सामग्री तोडफोडको घटनाको नेपाल पत्रकार महासंघ कास्की घोर निन्दा र भर्त्सना गर्दछ ।

प्रदर्शनकारीका ढुंगा प्रहारबाट एपिवान टेलिभिजनका गण्डकी ब्युरो प्रमुख सागरराज तिमिल्सिना र पोखराको सुनगाभा डटकमका समाचार प्रमुख सुशान्त गाहामगर घाइते भएका छन् । उनीहरुको शीघ्र स्वास्थ्य लाभको कामना पत्रकार महासंघ कास्की गर्दछ। प्राइम टेलिभिजनमा प्रत्यक्ष प्रसारणमा संलग्न पत्रकारद्वय निरज तामाङ, अनिता घिमिरे ‘चन्द्रिका’ र क्यामेरा पर्सन अर्जुन भण्डारीमाथि हातपातका साथै क्यामेरा तोडफोडको प्रयास निन्दनीय छ ।

आम नागरिकलाई सुसूचित गराउन खटिएका पत्रकारमाथि भएको अक्रमण समग्र पत्रकारिता र प्रेस स्वतन्त्रता माथिकै आक्रमण भएको ठहर नेपाल पत्रकार महासंघ कास्कीको छ। पत्रकारलाई हातपात गर्ने र सञ्चार सामग्री तोडफोडमा सम्लग्नलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न पत्रकार महासंघ कास्की जोडदार माग गर्दै पत्रकारलाई निर्वाध रुपमा समाचार संकलनको वातावरण बनाउन स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदछौं ।

माधवप्रसाद बराल

सचिव