मितिः२०७८/०२/२६
विश्व महामारीको रूपमा फैलिएको कोरोना भाईरस (कोभिड -१९) का कारण नेपाल र नेपालीको जनजीवन विगत डेढ वर्ष देखी अत्यन्त कष्टकर वन्दै गईरहेको सर्वविदितै छ । नयाँ भेरियन्टको रुपमा कोभिड १९ को दोस्रो लहर सुरु भए लगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कास्कीलाई उच्च जोखिम जिल्लाको सूचीमा सुचिकृत गरेको छ । जुन अहिलेपनि यथावत छ। कोरोना नियन्त्रण तथा रोकथामकै लागि कास्कीमा जिल्ला प्रशासनले डेढ महिनादेखि निषेधाज्ञा जारी राखेको छ । वन्दावन्दीको समयमा मानिस घरभित्रै खुम्चिन बाध्य छन् । तैपनि राज्यको चौथो अंग मानिएका सञ्चारकर्मीहरु जनताको सुसूचित हुने अधिकार प्रत्याभूत गर्न महामारीबीचमा पनि निरन्तर आफ्नो कार्य क्षेत्रमा खटिएका छन् ।
कोरोना संक्रमणका कारण अहिलेसम्म देशभर २० जना पत्रकारले ज्यान गुमाईसकेका छन । अहिलेपनि झण्डै २ हजार पत्रकार कोरोना संक्रमित भई विभिन्न अस्पताल र होम आईसोलेसनमा छन् । कोरोना संक्रमणका कारण पत्रकार महासंघ कास्कीले क्रियाशिल र जुझारु एक पत्रकार गुमाईसकेको छ । कोरोना संक्रमण सुरु भएयता कास्कीमा ४७ जना पत्रकारहरु संक्रमित भएका छन् । कतिपय संचारकर्मीहरु अहिलेपनि विभिन्न अस्पतालमा उपचाररत छन् । हाल कास्की जिल्लामा क्रियाशील रहेका पत्रकारहरु कोरोना विरुद्धको खोपको पर्खाइमा छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको तेस्रो तथा चौथो लहर आउन सक्ने तर्फ सचेत गराई सकेको छ । यस्तो अवस्थामा उच्च जोखिममा रहेको सञ्चार जगत र आम नागरिकलाई कोरोना विरुद्ध खोपको आवश्यकता टड्कारो बनेको छ । फ्रन्टलाइनमा रहेर नागरिकलाई सुसूचित, जागरुक बनाउने कार्यमा खटिने पत्रकारको पेसागत बाध्यता हृदयंगम गरी आम नागरिक सहित कास्कीका पत्रकारहरुलाई पहिलो प्राथमिकतामा राखेर तत्काल कोरोना विरुद्धको खोप उपलब्ध गराउन तीनै तहका सरकार (संघीय सरकार, गण्डकी प्रदेश सरकार र स्थानीय सरकार) समक्ष माग गर्दछौं ।
विमला भण्डारी
अध्यक्ष
