मितिः२०७८/०४/१६
नेपाल पत्रकार महासंघ कास्की शाखाका साधारण सदस्य एवं गण्डक न्यूजका सम्पादक रञ्जन अधिकारीले लेखेको समाचारको विषयलाई लिएर नवलपरासी घर भई हाल पोखरा महानगरपालिका-११ बस्ने श्रीकृष्ण श्रेष्ठले पत्रकार अधिकारीलाई सामाजिक सञ्जाल तथा फोनमार्फत धम्की दिएको घटनाप्रति महासंघ कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।
प्रकाशित समाचारमा चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सिल मार्फत कानुनी उपचार खोज्ने विकल्प हुँदा हुँदै धम्की दिने कार्य अत्यन्त निन्दनीय र खेदजनक छ। साथै यस घटनाले स्वतन्त्र प्रेस माथि आक्रमण भएको महासंघ कास्कीको ठहर छ।
संविधानको प्रस्तावनामा नै उल्लेख भएको प्रेस स्वतन्त्रता माथी आघात पुऱ्याउने यो घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई तत्काल कानुनी कारवाही गर्न पत्रकार महासंघ कास्की सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ ।
पत्रकार अधिकारीले २०७८/०४/१५ गते शुक्रबार साँझ घटनाका विषयमा महासंघमा लिखित निवेदन दिए पश्चात् महासंघ कास्की शाखाको ध्यानाकर्षण भएको छ । महासंघ आम श्रमजीवी पत्रकारहरूको अभिभावकीय संस्था भएकाले आफ्ना सदस्यहरूलाई आइपर्ने जस्तोसुकै समस्या समाधानका लागि सदैव प्रतिवद्ध रहदै आएको छ ।
बिमला भण्डारी
अध्यक्ष
