मितिः२०७८/०२/१८
नेपाल पत्रकार महासंघ कास्कीका सदस्य तथा ताण्डवन्युज डटकमका सम्पादक अर्जुन गिरीलाई समाचार लेखेको विषयलाई लिएर फोनबाट धम्की दिइएकोप्रति नेपाल पत्रकार महासंघ कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।
गत जेठ १६ गते ताण्डवन्युज डटकममा प्रकाशित नुभिव हत्या प्रकरणको समाचारलाई लिएर नेपाल पत्रकार महासंघका पूर्व पदाधिकारीको नाममा अज्ञात व्यक्तिले धम्क्याएको घटनाको पत्रकार महासंघ कास्की भर्त्सना र निन्दा गर्दछ ।
समाचारको विषयमा चित्त नबुझे प्रतिक्रिया प्रकाशित गर्ने र कानुनी उपचार खोज्ने बाटो हुँदाहुँदै पत्रकार महासंघकै पूर्व पदाधिकारीको नाम लिएर समाचार हटाउन धक्कीदिनु र नहटाएको खण्डमा नराम्रो कारबाही हुन्छ भन्दै धम्क्याउनु स्वतन्त्र पत्रकारिता माथि नै धावा बोल्न खोजिएको ठहर पत्रकार महासंघ कास्कीको छ।
ताण्डवन्युज डटकमका सम्पादक गिरीलाई धम्क्याउने व्यक्तिको तत्काल पहिचान गरी कानुनी कारवाही गर्न पत्रकार महासंघ कास्की प्रशासनलाई अनुरोध गर्दै घटनाको तत्काल छानबिन गरी सत्यतथ्य खोजी गर्न नेपाल पत्रकार महासंघ केन्द्रीय समितिलाई कास्की शाखा आग्रह गर्दछ ।
माधव बराल
सचिव
