नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य तथा पोखरा टेलिभिजनका संवाददाता विनाकुमारी थापा ‘बिनु’ र सञ्चारकर्मी सुरज थापामाथि भएको दुर्व्यवहार र कुटपिटप्रति नेपाल पत्रकार महासंघ कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।

मितिः २०८१/०४/१३

नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य तथा पोखरा टेलिभिजनका संवाददाता विनाकुमारी थापा ‘बिनु’ र सञ्चारकर्मी सुरज थापालाई आज साउन १३ गते पोखराको पृथ्वीचोकमा भएको दुर्व्यवहार र कुटपिटप्रति नेपाल पत्रकार महासंघ कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ । राइड सेयरिङविरुद्ध नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीले आह्वान गरेको आन्दोलनको क्रममा विना थापा मगरलाई दुर्व्यवहार तथा सुरज थापालाई कुटपिट गरेको र स्कुटरमा भएको तोडफोडको घटनाको पत्रकार महासंघ कास्की घोर निन्दा र भर्त्सना गर्दछ । पत्रकारको परिचयपत्र देखाउँदा देखाउँदै गरिएको दुर्व्यवहार र कुटपिट प्रेस स्वतन्त्रतामाथिकै आक्रमण भएको नेपाल पत्रकार महासंघ कास्कीको ठहर छ । घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कडा कारबाही गर्न स्थानीय प्रशासनसँग नेपाल पत्रकार महासंघ कास्की जोडदार माग गर्दछ । पत्रकारलाई निर्वाध रुपमा समाचार संकलनको वातावरण बनाउन सम्बन्धित सबैलाई आग्रह गर्दै आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिन ध्यानाकर्षण समेत गराउँदछौं ।

माधवप्रसाद बराल

सचिव

नेपाल पत्रकार महासंघ कास्की