ध्यानाकर्षण सम्बन्धमा

श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यू,

जिल्ला प्रशासन कार्यालय कास्की ।


विषयः ध्यानाकर्षण सम्बन्धमा ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको पक्राउको विरोधमा रास्वपा कार्यकर्ताले पोखराको रत्नचोकमा मिति २०८१ कार्तिक २० गतेको विरोध प्रदर्शनका क्रममा समाचार संकलनमा खटिएका नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य एवम् कान्तिपुर टेलिभिजनका पत्रकार इन्द्रप्रसाद पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य एवम् दृश्यम मिडियाका पत्रकार विनोद लामिछाने र पब्लिक फोरके टेलिभिजनबाट प्रसारित गण्डकी छड्के कार्यक्रमका क्यामरापर्सन राजकुमार माझी माथी नेपाल प्रहरीद्वारा भएको कुटपिटको घटना प्रति नेपाल पत्रकार महासंघ कास्की शाखाको गम्भीर ध्यानाकर्षण भएको छ।
आम नागरिक सुसुचित गराउन समाचार संकलनका लागि खटिएका पत्रकारलाई राज्यको सुरक्षा निकायबाट नै कुटपिट, दुर्व्यवहार जस्ता घटनाहरू बारम्बार दोहोरिनु आफैमा दुखद् छ। पत्रकारमाथीको आक्रमण लोकतान्त्रिक शासन व्यवस्थालाई गिज्याउने काम हो। आधुनिक राज्य व्यवस्थालाई बदनाम गराउने काम निन्दनीय छ । प्रहरीबाट भएका यस प्रकारका घटनाको हामी विरोध गर्दछौं । घाइते भएका पत्रकारहरू अझैपनि आफ्‌नो कार्यक्षेत्रमा फर्किन नसकेको कुरा स्मरण गराउँदछौं। कुनैपनि राजनीतिक दल, संघ संस्था, नागरिक समाजले आयोजना गर्ने कार्यक्रमको समाचार संकलन गर्नु र सोही कार्यक्रममा खटिनु पत्रकारको पेशागत धर्म हो। संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारमाथी हुनन हुने यस्ता किसिमका कार्य नदोहोऱ्याउन र पत्रकारमाथी कुटपिट गर्ने दोषीको पहिचान गरी कानुनी कार्वाही गर्न महासंघ कास्की शाखा जोडदार माग गर्दछ ।
पत्रकार महासंघ कास्की शाखा पत्रकारहरूको संवैधानिक सुनिश्चितताको सम्मान गर्न र निर्वाधरूपमा संचारकर्ममा जुट्ने वातावरण बनाउन सरकारसँग माग गर्दछ। नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको कार्यान्वयन गर्न र पत्रकारलाई निर्भिक रूपमा काम गर्ने वातावरण सृजनागरी स्वतन्त्र प्रेसको प्रत्याभूति दिलाउन जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराउँदछौं।
रामप्रसाद तिमिल्सेना

का.वा. अध्यक्ष

नेपाल पत्रकार महासंघ कास्की